लेखनाथ, श्रावण २४ - सामाजिक सञ्जाल फेसबुक युवाहरूमाझ चर्चित रहेन । हाम्रै गाउँघरका प्रौढहरू पनि यो सञ्चारको नौलो थलोप्रति आकषिर्त हुने क्रम बढ्दो छ ।
साक्षर हजुरआमाहरूसमेत फेसबुकमा छाउन थालेका छन् । फुर्सदको समय साथीहरू, परिवार र छिमेकीसँग गफ गरेर बिताउने उनीहरू अहिले कम्प्युटर अगाडि बस्न रुचाउँछन् । उनीहरूका सहयोगी बनेका छन्: नातिनातिना, छोराछोरी वा श्रीमान् । छोराछोरी र श्रीमान् दिनदिनै फेसबुकमा भुल्न थालेपछि हजुरआमाहरूको चासो पनि त्यता बढेको हो । लेखनाथ, शिशुवाकी उमादेवी बाँस्तोला तिनैमध्ये पर्छिन् । दोस्रो जनआन्दोलनकी घाइतेसमेत रहेकी उनी अहिले फेसबुकमा भेटिन्छिन् । सामाज सेवी उनी बढी लेखनाथमा हुने सार्वजनिक कार्यक्रममै हुन्छिन् । त्यसबाट फुर्सद मिलेपछि उनी श्रीमान् र छोरा नरेन्द्रको साहरामा फेसबुक चलाउँछिन् ।
उनको फेसबुक एकाउन्ट श्रीमान् बृहस्पतिले खोलिदिएका हुन् । श्रीमती सामाजिक कार्यकर्ता भएका कारण सम्पर्क बढाइदिन फेसबुक खोलिदिएको बृहस्पतिले बताए । भने, 'आडमा बस्छिन्, म उनले भनेका कुरा लेखिदिन्छु ।' धेरै आफन्त विदेश भएका कारण उनीहरूसँग भेट गर्न र फोटो हेर्न उनकै आग्रहमा फेसबुक खोलिएको हो ।
फेसबुकले धेरैसँग भेटघाट भएकोले धेरै रमाइलो लागेको ५६ वर्षीया उमाले बताइन् । भनिन्, 'दिदीबहिनी, छोराछोरी, धेरै आफन्त बाहिर छन् । अस्ति दुबईमा रहेका छिमेकीका छोराहरूले 'ए ठूलीआमा हुनुहँुदोरहेछ' भनी धेरैबेर कुरा गरे ।'
अनलाइन भेटिने अर्की हजुरआमा हुन् ६३ वषर्ीया गोमा पन्थी । अर्घाखाँचीकी उनको फेसबुक अकाउन्ट नाति सुशीलले खोलिदिएका हुन् । 'हजुरआमालाई पनि आफू सूचना र सञ्चारको पहुँचमा रहेछु भन्ने आभास होस् भनेर खोलिदिएको हुँ,' उनले भने, 'यसले हजुरआमासँगको सम्बन्ध पनि आत्मीय भएको छ ।'
तनहुँ, खैरेनीटारकी शान्ता घिमिरे पनि फेसबुकमा अभ्यस्त बन्दै गएकी छन् । उनको अकाउन्ट उनका छोरा सन्तोष घिमिरेले खोलिदिएका रहेछन् । छोराले विभिन्न फोटोहरू पनि राखिदिएका छन् । सन्तोषले भने, 'आमाको पनि फेसबुकमा सबैसँग भेट होस् भनेर खोलिदिएको हुँ ।' शान्ता छोराहरू घर आउँदा र आफू काठमाडौं आफ्नो स्टाटस अपडेट गर्न लगाउँछिन् ।
प्रकाशित मिति: २०६८ श्रावण २४ १०:०१